Search site


Contact

Rajendra Gautam
Address: Ghattekulo-32, Kathmandu, Nepal

Phone: +977-1-4771303, +977-98510-49804

E-mail: rajendragautam07@gmail.com

हामी कसरी धनी हुन सक्छौ ? : - कर्ण शाक्य

20/11/2011 09:42

हामी सोच्छौं देश कमजोर छ, नेताहरू स्वार्थी छन्, तर हामी के छौं ? के हामी असल नागरिक बनेका छौं ? अरूलाई गाली गर्दा हामीले विचार गरेका छौं ? हामी सच्चा नागरिक भएर बाँचेका छौं ?

यो लेख कसैलाई अर्ति उपदेश दिन लेखिएको होइन, तर यसलाई सकारात्मक रूपमा लिने हो भने यो हामी धनी र असल बन्ने खुराक बन्न सक्छ । यी सूत्रको उपयोग गर्ने हो भने हामी देशलाई माथि उठाउँछौं, हामी धनी बन्न सक्छौं । धनको अर्थ पैसा मात्र होइन, धेरै थोक हो ।

१) हामी सबैभन्दा पहिले नेतालाई गाली गरेर आफ्नो बिहान प्रारम्भ गर्छौ, किनभने बिहानका पत्रपत्रिकाको समाचारले हामीलाई निराश बनाइसकेका हुन्छन् । देशको राजनैतिक घटनाक्रम नै यस्तो छ कि हामीले नकारात्मक कुरा नै सुन्न बाध्य हुनुपर्छ, तर एकैछिन विचार गरौं, सधैं राज्यलाई मात्र सरापेर, नेतालाई गाली गरेर हामी सकारात्मक हुन सक्छौ ? हामीले व्यक्तिगत, पेसागत, जातिगत र दलगत हकहितका बारेमा धेरै कुरा गरिसक्यौं, अब एकपल्ट राष्ट्रिय हितका बारेमा पनि सोचौं कि ?

२) विकसित मुलुकमा सबैभन्दा माथि राष्ट्र, त्यसपछि समाज र त्यसपछि व्यक्तिलाई महत्व दिइन्छ । हाम्रो देशमा भने व्यक्तिले सबैभन्दा पहिले आफ्नो हित सोच्छ, त्यसपछि आफ्नो परिवारलाई महत्व दिन्छ । त्यसपछि जातिको कुरा सो च्छ । त्यसपछि क्षेत्रलाई ध्यान दिन थाल्छ । उसको प्राथमिकतामा देश पुछारमा आउँछ । हामी जुन स्थानमा छौं, त्यहींबाट देशलाई पहिलो प्राथमिकतामा राखेर काम प्रारम्भ गर्ने प्रयास किन नगर्ने ?

३) हीन भावनाबाट नयाँ नेपाल बन्दैन । त्यसका लागि सबैभन्दा पहिले म जाबोले के गर्न सक्छु र ? भन्ने दरिद्र मानसिकता त्याग्नुपर्छ । म जुन स्थानमा छु, त्यही राम्रो गर्न सक्छु । अरूले के गर्छन् मलाई थाहा छैन, तर मचाहिँ यो काम आजैदेखि प्रारम्भ गर्छु भन्ने संकल्प लिनुपर्छ ।

४) आफूले जे देख्यो त्यही ठीक, आफूले जे सोच्यो त्यही जायज, आफ्नो चस्माले जे हेर्‍यो त्यही सत्य भन्ने एकतर्फी मानसिकता सभ्य समाजको सबैभन्दा ठूलो अवगुण हो । कुनै चीजको अवधारणा बनाउँदा आफ्नो आँखाबाट मात्र होइन, अरूको आँखाबाट पनि हेर्न सक्नुपर्छ । कसैको आलोचना गर्नुअघि अर्को दृष्टिकोणबाट पनि एकपटक सोच्ने प्रयास गरौं ।

५) मैले देखेको महत्वपूर्ण सत्य के हो भने रेलको लिग छुटि्टने स्थानमा एक इन्च फरक हुन्छ, तर त्यही एक इन्चको फरकमा दिल्लीबाट हिँडेको रेल कलकत्ता नपुगेर मुम्बई पुग्छ । असल मार्ग हिँड्ने व्यक्तिलाई यो सानो कुरा त होनी भन्दा भन्दै निकै टाढा पुर्‍याएको हुन्छ । जीवनमा चालिने प्रत्येक इन्चका पाइलाले मानिस कहाँ पुग्छ भन्ने कुरा निर्धारण गरिरहेको हुन्छ । त्यसैले तपाईं कहाँ पुग्न चाहनुहुन्छ, सुरुमै विचार गर्नुहोस् ।

६) जिन्दगी प्रतिस्पर्धाको अन्तहीन प्रक्रिया हो । जिन्दगीको हरेक मोडमा एकले अर्कासित प्रतिस्पर्धा नगरी सुखै छैन । यद्यपि प्रतिस्पर्धाको नाममा एकले अर्कालाई बिगारेर र अरूको टाउकोमा टेकेर आफू माथि उक्लनु तत्कालका लागि रमाइलो होला, तर त्यसले न त स्थायी प्रगति दिन्छ न त आत्मसन्तुष्टि नै ।

७) अरूले आफ्नो प्रशंसा गरेको सबैलाई मनपर्छ । त्यस भए तपाईंले पनि असल कामका लागि अरूको प्रशंसा गर्न किन कन्जुस्याइँ गर्ने ?

८) मानिसको दुःखको कारण नै अरूको ईष्र्या हो । कसैले मेहनत गरेर पैसा कमाएको छ भने ऊ इष्र्याको पात्र होइन, अनुकरणीय व्यक्ति हो । जो सुखी जीवन बिताउन चाहन्छ, उसले प्रगति गर्ने व्यक्तिको ईष्र्या होइन, प्रशंसा गर्न सिक्नुपछर् ।

९) नेपालीहरू विदेशमा गएर किन चौकीदार, मजदुर र वेटर हुन्छन् ? किनभने विदेशमा ती कामलाई सम्मानपूर्ण दृष्टिले हेरिन्छ । नेपालमा जुन दिनदेखि अहिले तल्लो दर्जाका भनिएका कामको सम्मान हुन थाल्छ, त्यही दिनदेखि युवाहरू विदेश नगएर यहीं त्यस्ता काम गर्न थाल्छन् ।

१०) राज्य भनेका हामी नै हौं । प्रहरी प्रशासन भनेको पनि हामी नै हौं । यदि हामीले यो कुरा बुझेर निम्न कर्तव्यहरू पालन गर्न सक्यौं भने समाज निकै व्यवस्थित हुन सक्छ । जस्तो ः

एउटा हलुवाईले शुद्ध रोटी मात्र बेचिदियो भने पनि,

एउटा व्यापारीले ग्राहकलाई नठगिदिए,

एउटा पसलेले फुटपाथमा अतिक्रमण नगरे पनि,

एक छिमेकीले अर्को छिमेकीको पीरमर्का बुझ्ने प्रयास मात्र गरिदिए पनि,

पाइलटले समयमा प्लेन उडाइदिए पनि,

शिक्षकले कसरी राम्रो शिक्षा दिन सकिन्छ भनेर कक्षामा पस्नुअघि सोचे पनि,

उम्मेदवारले चुनावपश्चात् भित्तामा टाँसेको आफ्नो पोस्टर मात्र निकालिदिए पनि,

सरकारी कर्मचारीले आफ्नो फाइलमात्र समयमा टुङ्ग्याइदिए पनि,

पत्रकारले अन्तरआत्माले देखेको मात्र लेखे पनि,

हामीले कर्मचारीलाई लोभमा मात्र नफसाए पनि,

मन्त्रीले नियमपूर्वक गर्नुपर्ने निर्णय गरे पनि,

डाक्टर, नर्सहरू खटाएको ठाउँमा गइदिए पनि,

प्रहरीले कानुन मान्नेलाई दुःख नदिई, कानुन तोड्नेलाई सजाय दिए पनि,

दोषी को हो थाहा पाउँदा-पाउँदै वकिलले अपराधीलाई बचाउने प्रयास नगरे पनि,

नेताले अपराधीलाई प्रश्रय नदिए पनि,

राजनैतिक नेता एवं कार्यकर्ताहरूले दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय मुद्दालाई सोचिदिए पनि, देशका धेरै समस्या सुल्झन्छन् ।

पारिवारिक समस्याका सामधान

११) संयुक्त परिवार नै नेपालको पारिवारिक प्रणाली हो । किनभने नेपालीमा अहिलेसम्म ठूलालाई सम्मान गर्ने परिपाटी र सानालाई माया गर्ने संस्कार जीवित छ । एक-अर्कामा बिनास्वार्थ सहयोग गर्ने चलन पनि हामीले बचाएर राखेका छौ ं । यो विदेशीहरूका लागि अनुकरणीय संस्कार हो । यसलाई बचाउनु नेपालीपन बचाउनु हो ।

१२) मन नमिले पनि एकै स्थानमा बस्नुपर्छ भन्ने सोच पनि गलत हो । परिवारमा बेमेल आएको खण्डमा समझदारीपूर्वक अलग हुनु राम्रो हो । अंशबन्डा गर्दा सहज तरिकाले गोलाप्रथाद्वारा गर्नु सबैभन्दा राम्रो उपाय हो ।

१३) मानिस पशु होइन । खुरुखुरु बच्चा जन्माउने तर उनीहरूको भविष्य नसोच्ने आमा-बुवा असल होइनन् । त्यसैले बच्चा पाउनुअघि नै उसका बारेमा कम्तीमा २० वर्षे योजना बनाउनुपर्छ । यसो गर्दा आफ्नो बच्चाले मलाई मान्नैपर्छ, उसले आफूले सोचेजस्तै सोच्नुपर्छ भन्ने हठ त्याग्नुपर्छ । यसो गर्दा थोरै बच्चा जन्माउने र उनीहरूलाई उचित संस्कार दिने कार्यमा सहजता हुन्छ ।

१४) श्रीमतीबाट सम्मान पाउन उनको माइतीलाई सम्मान दिनैपर्छ । जो आफ्नो ससुरालीलाई सम्मान गर्न सक्दैन, उसले आफ्नो परिवारका सदस्यलाई सम्मान गरोस् भन्ने मुर्ख आशा राख्नु हुँदैन । अर्कातर्फ कुनै पनि महिलाले घरका परिवारलाई सम्मान नदिई माइतीले मात्र सम्मान पाउनुपर्छ भन्ने कुरा पनि आफैंमा हास्यास्पद हो ।

१५) मानिसको जिन्दगीमा सबैभन्दा महत्वपूर्ण पक्ष शान्ति हो । शान्तिबिना मानिस सुखसँग बाँच्न सक्दैन । यद्यपि शान्ति आफैं आउँदैन, लगातार प्रयास गर्नुपर्छ । सबैभन्दा पहिले बालबालिकालाई हिंसाजन्य खेलौना, दृष्य एवं संवादबाट टाढा राख्नुपर्छ । घरमा आमा-बुवाबीच हुने शारीरिक एवं वाचिक हिंसाबाटै उनीहरूको मनमा अशान्ति पैदा हुन्छ । यस्तो व्यक्ति कहिलै शान्त हुन सक्दैन । आफ्ना सन्तानलाई जीवनभर शान्त देख्न चाहनुहुन्छ भने पहिले आफ्नो घर शान्त राख्नुपर्छ ।

१६) यदि परिवारलाई कामको बोझबाट मुक्त राख्न चाहने हो भने जुनसुकै काम समयमै गर्नुपर्छ । जुनबेला काम गर्न थालिन्छ, उत्साहका साथ त्यसको प्रारम्भ हुनुपर्छ । जसले घरको काम समयमा सक्छ, उसले बाहिरको काम पनि सजिलै फत्ते गर्छ ।

सरसफाइ

१७) सभ्य व्यक्तिको परिचय सफाइ हो । सभ्य सहर तब कहलिन्छ, जब यो सफा हुन्छ । सभ्य गाउँ पनि सफा हुनुपर्छ । हामी कति सभ्य छौं बुझ्न एकपल्ट आफ्नो वरपर ध्यान दिएर हेर्नुहोस्, आफ्नो मापन सजिलै गर्न सकिन्छ ।

१८) व्यापार गर्नु व्यापारीको अधिकार हो, तर आफूले गरेको व्यापारबाट समाज र सहर फोहोर त भैरहेको छैन ? एकपल्ट सोच्नैपर्छ । आफ्ना वस्तुको विज्ञापन गर्दा सार्वजनिक स्थल, सम्पदास्थल, अरू व्यक्तिहरूका भित्तामा पोस्टर टाँस्न पाइन्छ ? कमाउने आफू, असजिलो अनुभव अरूले गरे भने हामीले कमाएको पैसाप्रति नकारात्मक भाव जाग्छ ।

१९) राजनैतिक दलका नारा हुन् कि विज्ञापनका सामग्री, त्यसले पर्खालका भित्ता होइन, मानिसका मनमा टाँसिन सक्नुपर्छ । यसका लागि फोहोर नहुने साधनहरू प्रयोग गर्न सकिन्छ ।

२०) गल्ली, सडक, चोक वा सार्वजनिक स्थलमा गएर हामीले कहिल्यै सफा गरेका छौं ? छैनौ भने ती सम्पदामा फोहोर फाल्ने अधिकार पनि हामीलाई छैन ।

२१) भाडा तिर्न नसक्ने गरिब पसलेहरूले राज्य वा नगरपालिकाले तोकिएका स्थानमा पसल थाप्न पाउनुपर्छ, तर पसल उठाइसकेपछि आफूले व्यापार गर्दा गरेको फोहोर नगरपालिकाका कर्मचारीले गर्नुपर्छ भन्ने मानसिकताले मानिस कहिलै असली व्यापारी हुन सकिँदैन ।

२२) सार्वजनिक स्थलमा धूम्रपान गर्न कानुनी रूपमा मनाही छ । धूमपान क्यान्सरको प्रमुख कारण भएकाले चुरोट नखाने व्यक्तिलाई पनि जबरजस्ती क्यान्सर रोगी बनाउनु धूमपान गर्नेहरूको अन्यायी व्यवहार हो । सार्वजनिक स्थलमा धुमपान छोड्नु धनी बन्ने प्रमुख उपाय हो ।

२३) आजभोलि साथीभाइ वा संस्थाहरू मिलेर वनभोज जाने कार्यक्रम राम्रैसँग फस्टाएको छ, तर वनभोजको फोहोर एक स्थानमा नथुपारिदिँदा त्यहाँका कर्मचारीहरूले गरेको गाली सुन्नु भएको छैन ? वास्तवमा बिहानै फोहोर सफा गर्नेह रूले हामीलाई गाली गर्छन् भन्ने हेक्का राखेर आफूले गरेको फोहोर सफा गर्नु असल संस्थाको कर्तव्य हो ।

२४) क्याटरिङ व्यवसाय गर्नेहरूले पनि भोज सकिएपछि बचेका खाद्यपदार्थ सडकका पेटी, नदीका किनारातर्फ फ्याँकिरहेका हुन्छन् । त्यसो गर्नुभन्दा सबै रेस्टुराँ व्यवसायी एवं क्याटरिङवालाहरूको संगठनले प्राङ्गरिक मलको एउटा कारखाना किन नबनाउने ?

धर्म, संस्कृति र पर्यटन

२५) आफ्नो जात, धर्म र कर्मकाण्डहरूलाई महत्व दिएर अरूको संस्कृतिलाई हेपाहा दृष्टिकोणले हेर्नु इथिनोसेन्टि्रज्म हो । आजसम्म हामीले आफ्नो धर्म र संस्कृतिलाई सम्मान गर्दै अरूको धर्मलाई पनि इज्जत दिँदै आएका छौं । हाम्रो दे शको यही सहिष्णुताले हामी विश्वभरि चिनिएका पनि छौं । सौभाग्य संसारभरि धर्मको नाममा रगत बगिरहेको अवस्थामा हाम्रो देशमा एक थोपा पनि रगत बगेको छैन । यो हाम्रो गर्वको इतिहास हो । यसलाई बचाउनु हाम्रो कर्तव्य हो ।

२६) संस्कृति र प्रकृति हाम्रो देशका प्रमुख नीधि हुन् । यिनै दुई कुरा हेर्न विश्वभरिका पर्यटक हाम्रो देश आउँछन् । त्यसैले आधुनिकताको नाममा कतै हामी हाम्रो प्रकृति र संस्कृतिलाई विरुप त पारिरहेका छैनौं ? एकछिन विचार गर्नुपर्ने बेला आएको छ । आधुनिकताको अर्थ पश्चिमको सिधा नक्कल होइन, बरु आफ्नो परिवेशमा ढाल्नु हो ।

२७) हरेकलाई आफ्नो धर्म मान्ने अधिकार हुन्छ, तर धर्मका नाममा लाउडस्पिकर बजाएर भजन, प्रवचन गरेर सारा टोलमा ध्वनि प्रदूषण गर्दा अरूले हाम्रो धर्मको आलोचना गर्छन् भन्ने बुझ्नु आयोजकहरूको कर्तव्य हो ।

२८) नयाँ वर्ष, विभिन्न चाडपर्व एवं महोत्वसहरूमा रंगीन कागज टाँगेर टोलहरूलाई बेहुलीजस्तै सजाइन्छ । यो उल्लासको समयमा यसो गर्नु जायज हो, तर कार्यक्रम सकिएपछि त्यसै छाड्दा त्यसले हाम्रो संस्कृतिको भद्दा रूप पनि दे खिन सक्छ । आफ्नो पर्वलाई माया गर्नेहरूले त्यसको सही व्यवस्थापन पनि गर्न सक्नुपर्छ ।

२९) देवता खुसी पार्न भोग दिने चलन अवैज्ञानिक हो भन्ने कुरा सिद्ध भैसकेको छ । आधुनिक युगमा पनि परम्पराको नाममा भोग दिने चलनले हाम्रो धर्म र संस्कृतिमाथि अरूले औंला ठड्याइरहेका छन् । बलिको साटो फलफूल चढाउने चलनलाई अघि बढाउँदा देवताको पनि सम्मान हुन्छ, हामीले हाम्रो संस्कृतिको पनि सम्मान गरेको ठहरिन्छ ।

३०) रेष्टुराँहरूमा नाचगान गराउने हो भने त्यस्ता स्थान भूमिगत हुनुपर्छ । यदि भूमिगत बनाउन सकिदैन भने रेस्टुराँको भित्ता र झ्याल साउन्डप्रुफ हुनुपर्छ ।

प्रशासनिक क्षेत्र

३१) कार्यशाला एवं गोष्ठीहरूमा मानिस केही सिक्न र बुझ्न आउँछ । बौद्धिक बहस एवं देशको चिन्ता भैरहेका बेला मोबाइल फोन अन राख्नु त्यो बौद्धिक जमातको अपमान हो ।

३२) यदि तपाईंले आफ्नो कार्यालयमा बसेर राजनैतिक पत्रिका पढिरहनुभएको छ र त्यसमा प्रकाशित समाचार पढेर अरूलाई गाली गरिरहनुभएको छ भने एकछिन् सोच्नुहोस् त ? तपाईंले कार्यालयको समयमा काम नगरेर अरूको गालीको पात्र त बनिरहनुभएको छैन ?

३३) जुन कार्यालयमा चर्पि सफा हुँदैन, त्यो कार्यालय व्यवस्थित छैन भन्ने बुझ्नुपर्छ । यदि तपाईं कुनै कार्यालयमा काम गर्नुहुन्छ र आफू असल व्यक्ति हुँ भन्ने मान्नुहुन्छ भने एकपटक चर्पीमा जानुहोस् । तपाईंको चर्पी कति सफा छ, तपाईं त्यति नै असल व्यक्ति हुनुहुन्छ ।

३४) एउटा कर्मचारी वा हाकिम कति व्यवस्थित हो, उसको टेबलले पनि दर्साउँछ । आजभोलि धेरैजसो सरकारी कार्यालयका टेबुलमा वरपर धूलो र फोहोर जम्मा भएको हुन्छ । त्यही सबैकाम भैरहेको हुन्छ । यस्तोमा बाहिरबाट आएका व्यक्तिले तपाईंको अवमूल्यन गर्‍यो भनेर किन चित्त दुखाउनुहुन्छ ?

समसामयिक

३५) 'लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ ।' यो चर्चित उखान हो । छल, बल र चलखेलबाट मानिसलाई एकपटक मूर्ख बनाउन सकिन्छ, सधैं होइन । समय र सत्यलाई छलेर एकछिन सफल हुनुभन्दा विस्तारै तर दीघर् कालीन सफल हुने बाटो अवलम्बन गर्दा कसो होला ?

३६) राजनीति एवं प्रतिस्पर्धामा विरोध हुनु सामान्य कुरा हो, तर विरोधको नाममा राष्ट्रकै जरा खल्बलिने वा आफ्नो कार्यालय नै तहस-नहस हुने गरी विरोध गर्नु असल विरोधीको काम होइन । ठीक ठाउँमा आलोचना गर्नु, औंला ठड्याउनु र विरोध गर्नु जायज हो । नत्र त्यसले निरंकुश बनाउँछ, तर यो विरोधले आफ्नो हानी हुनेसम्मको बाटो अबलम्बन गर्दा कसैको पनि हित हुँदैन ।

३७) मान्छेको मूल्यांकन कामले हुन्छ, कुराले होइन । जिम्मेवारी नबोकेका व्यक्तिले जिम्मेवार मानिसलाई आलोचना गर्नुअघि म त्यसको योग्य छ कि छैन विचार गर्नैपर्छ ।

३८) हाम्रो देशको सबैभन्दा ठूलो समस्या के छ भने काम नहुन्जेल कसैलाई मतलब हुँदैन, तर कसैले जोखिम मोलेर कुनै काम सुरु गर्छ, अनि सबैले शंका उपशंका गर्न थाल्छन् । कसैले विकासको काम गर्दैछ भने विरोध गर्नुअघि अलिकति बुझेर मात्र विरोध गरौं ।

३९) कुनै काम गर्नुअघि नै म सँग आकास खसिहाल्छ, बम पड्किहाल्छ भनेर भाँजो हाल्ने प्रवृत्ति त छैन ? एकपटक सोच्ने हो कि ?

४०) उद्योगको रूख रोप्नेबित्तिकै त्यसले फल दिदैन । धैर्य राख्दै आफ्नो रूखलाई मलजल गर्नु उद्यमीको प्रमुख कर्तव्य हो । आफूले रोपेका रूखको रेखदेख तलब दिएर राखेका मानिसले गर्छन् भन्नु मुर्खता हो ।

४१) सबै मानिस सर्वगुण सम्पन्न हुँदैनन् । प्रत्येकमा केही न केही कमजोरी हुन्छन् । असल मानिस त्यो हो, जसले आफ्नो कमजोरी बुझेर त्यसलाई चलाउन जान्दछ । कमजोरी नभएको त देवता पनि हुँदैनन् भने मानिसमा कमजोरी हुनु सामान्य कुरा हो ।

४२) भूल ठूलाले मात्र गर्दैनन् । समाजका सबै वर्गबाट भूल हुनसक्छ । एकपटक गल्ती गर्‍यो भन्दैमा ऊ कामै नलाग्ने व्यक्ति हो भनेर समाजबाट पन्साउनु गलत हो । एकपटक उसलाई मौका दिनु असल समाजको परिचय हो ।

संरक्षण एवं विकास

४३) जव-जव देशमा राजनीतिले कोल्टे फेर्छ, त्यसको पहिलो असर प्रकृतिमा पर्छ । तरल राजनीतिको अवस्थामा देशको प्रकृति एवं संस्कृतिमाथि अवसरवादीहरूले चोट त पुर्‍याइरहेका छैनन्, सबै सचेत नागरिकले विचार पुर्‍याउनुपर्छ ।

४४) सडकका दायाँ-बायाँ सार्वजनिक स्थलहरूमा व्यापारीहरूलाई इँटा, बालुवा डन्डी र बाँस राखेर बेच्न दिनु नगरपालिकाको कर्तव्य होइन । यदि व्यापारीहरूले सजिलै ती स्थान उपभोग गरिरहेका छन् भने बुझ्नुपर्छ त्यहाँ नगरपालिकाका कर्मचारी र व्यापारीबीच लेनदेन भएको छ । यसको विरोध गर्नु हामी सबैको कर्तव्य हो ।

४५) पानी, जंगल र बिजुलीलाई त्यसै खेर गएको हेरिरहनु असल नागरिकको कर्तव्य होइन । जहाँ यिनीहरूको दुरुपयोग भएको छ, त्यहाँ विरोधको स्वर उराल्नै पर्छ ।

४६) पदयात्रा व्यवशाय नेपालको ठूलो उद्योग हो । हाम्रा गाउँघरका कतिपय उकाली-ओरालीमा रूखको शीतल छायाँ नभइदिँदा पदयात्रीले दुःख पाएका छन् । सहरमा पदयात्राका प्याकेज बेच्नेहरूले ती स्थानहरूमा चौतारो बनाउनु पर्दैन ?

४७) जिम्मेवारी कहिलै नबोक्ने तर विरोध मात्र गरी हिँड्ने बुद्धिजीवीहरूलाई सञ्चारले सधैं नेता बनाएको उदाहरण छ । अब एकपल्ट विरोध नगर्ने तर काम गरिरहने मानिसलाई खोजी-खोजी उनीहरूका कुरा प्रकाशित गर्ने हो कि ?

४८) नेपालका धेरै सरकारी कार्यालय मात्र होइन, विदेशी पैसाबाट सञ्चालित गैरसरकारी संस्थाहरूले बाहिर त राम्रो काम गरेका छन्, तर आफ्नै कार्यालय वरिपरिको जग्गा बाँझो राखेका छन् । कुनै दिन फुर्सद निकालेर सबै कर्मचारी मिलेर आफ्नो कार्यालय वरपरको खाली स्थानमा किन रूख नरोप्ने ?

४९) विदेशबाट कच्चा पदार्थ भन्दै भन्सार छुटमा विभिन्न माल नेपाल भित्र्याउने, नेपाल ल्याएर त्यसमा मेड इन नेपालको लोगो लगाएर स्वदेशी उद्योगको सुविधा लिने व्यापारीहरूको विरोध किन नगर्ने ?

५०) अन्त्यमा, देशमा यो भएन, त्यो भएन भनेर सधैं सरकारलाई मात्र गाली गर्दैमा समस्याको समाधान हुँदैन । यो समाजलाई असल मार्गमा ल्याउने हामीहरू नै हौं । समाजमा नियम कानुन धेरै बने । त्यसले समाधान निकाल्न सकेन । अब समाजलाई नियमले होइन, विवेकले बाँध्नुपर्छ । समाजका कूरीति र विकृतिहरूलाई आँखा चिम्लेर स्वीकार गर्नु हरुवा प्रवृत्ति हो । अब हामीले नकारात्मक खुड्किलाहरू टेकेर सकारात्मक भर्‍याङ् चढ्नुपर्छ । अधिकांश समस्या हामी आफै ंले निम्त्याएका हौं । त्यसैले त्यसको जिम्मेवारी पनि हामीले लिनुपर्छ । अहिलेसम्म हामीले अधिकार मात्र माग्यौं, अब आफ्नो कर्तव्यतर्फ पनि ध्यान दिने हो कि ?

 

तपाइको प्रतिक्रिया !

No comments found.